प्रसुति विशेषज्ञ भन्छन् : भूकम्पले गर्भ तुहिँदैन

२० वैशाख, काठमाडौ । भूकम्पको कम्पनले गर्भवती महिलाको गर्भमा समेत असर पर्ने आम मान्यता छ । गर्भ रहेका वस्तुभाउमा समेत भूकम्पले असर पार्ने कतिपय किसानहरुको धारणा छ । के भूकम्पले गर्भवतीलाई असर गर्छ ? यसबारेमा अनलाइनखबरले प्रसुति विज्ञसँग कुराकानी गरेको छ ।

भूकम्पले मानिस वा कुनै पनि जनावरको गर्भमा असर नपर्ने प्रसूती विशेषज्ञको दाबी छ । भूकम्पका कारण दौडधूप गर्दा महिलाहरु दौडिएर चोटपटक लागेमा समस्या हुन सक्ने भए पनि कम्पनकै कारण गर्भ तुहिने कुरामा विश्वास नगर्न उनीहरुले आग्रहसमेत गरेका छन् ।

आफ्नो ज्यान सबैलाई प्यारो हुन्छ, त्यसैलेे ज्यान बचाउनका लागि गर्भवती महिलाहरु दौडने, भाग्ने गर्दा चोटपटक लाग्न सक्छ,’ परोपकार प्रसूती तथा स्त्री रोग अस्पतालका विशेषज्ञ डा. मधु श्रेष्ठले अनलाइनखबरसँग भनिन्, ‘चोटपटकले गर्भमा असर पर्न सक्छ, तर भूकम्पकै कारणले गर्भवती महिलाको गर्भ खेर जानेचाँहि हुँदैन ।

अहिलेसम्म विज्ञानमा यसको कुनै परिभाषा नै छैन,’ श्रेष्ठले भनिन्, ‘तर गर्भवती महिलाहरुको जीउमा कुनै असर पारेको हुन्छ होला, तर थाहाचाँहि हुँदैन ।

भूकम्पले गर्दा गर्भ तुहिन्छ भन्ने कुरालाई अन्धविश्वास नै भन्न चाँही नमिल्ने डा. श्रेष्ठको भनाइ छ । कुनै मान्छेको नजिरले त्यसो भनिएको हो भने केही भन्न नमिल्ने उनले बताइन् ।

३ देखि ५ महिनाकी गर्भवती महिलालाई त खासै असर नै पर्दैन, डा. श्रेष्ठ भन्छिन्, ‘६ देखि ८ महिनामा पेट ठूलो हुने भएकाले त्योबेलामा भने दौडन, भाग्दा लड्ने सम्भावना हुन्छ, जसले गर्दा समस्या उत्पन्न हुन सक्छ ।तर, भूकम्पकै कारणले गर्भ तुहिएको भन्ने कुरा अहिलेसम्म आफूले नदेखेको, नसुनेको उनले बताइन् । त्यो बेलामा दौड्दा स्टे्रस हुन्छ, इन्फेक्सन हुन सक्छ तर भूकम्प आएकै कारणले गर्भ नजाने उनले दोहोर्‍याइन् ।

नेपाली डाक्टरहरुले भूकम्पको असर गर्भवतीलाई नपर्ने दाबी गरे पनि अन्तरराष्ट्रिय अध्ययनले त्यसो भन्दैन । सन् १९८५ मा मेक्सिकोमा गएको भूकम्पका कारण गर्भवती महिलामा समस्या देखिएको अध्ययनले देखाएको छ

भूकम्पमा गर्भवतीले सतर्क हुनुपर्छ

गर्भवती महिला भूकम्प आएका बेला सुत्नुहुँदैन, सतर्क हुनुपर्छ भन्ने जनश्रुती जायज भएको स्त्री रोग विशेषज्ञ डा रश्मी यादव बताउँछिन् । भूकम्पको बेलामा सतर्क हुनुपर्ने भएकाले सुत्नुहुँदैन भन्ने कुरा जायज भए पनि गर्भ नै तुहिन्छ भन्ने चाँहि सही नहुने डा. रेश्मीले बताइन् ।

जचाउन आउने घटे, सुत्केरी गराउने बढे

वैशाख १२ गते गएको भूकम्पपछि प्रसूति अस्पतालमा जाँच गराउन आउने  गर्भवती महिलाको संख्या घटेको छ । तर, सुत्केरी गराउनेहरुको संख्या बढेको छ ।

अस्पताल प्रशासक अमरनाथ अमात्यका अनुसार पहिले गर्भवती महिलाहरु चेकजाँच गराउन समय समयमा आउने भए पनि भूकम्पपछि भने चेकजाँच गराउन आउने महिलाको संख्यामा कमी आएको छ ।

तर, भूकम्प आएको दिन वैशाख १२ गते २६ जना महिलाले मात्रै सो अस्पतालमा प्रसूति गराएको अहिले दैनिक ५० भन्दा बढीले सुत्केरी गराउन थालेको अमात्यले अनलाइनखबरलाई बताए ।
स्रोत:अनलाइनखबर
 

 

२० वैशाख, काठमाडौ । भूकम्पको कम्पनले गर्भवती महिलाको गर्भमा समेत असर पर्ने आम मान्यता छ । गर्भ रहेका वस्तुभाउमा समेत भूकम्पले असर पार्ने कतिपय किसानहरुको धारणा छ । के भूकम्पले गर्भवतीलाई असर गर्छ ? यसबारेमा अनलाइनखबरले प्रसुति विज्ञसँग कुराकानी गरेको छ । - See more at: http://www.onlinekhabar.com/2015/05/272714/#sthash.ZnLDGJsg.dpuf