जोगियो असन, सग्लै रह्यो काठमाडौं

२० बैशाख, काठमाडौं । एकसाता अघि भूकम्प गएको सुन्नासाथ धेरै मानिसहरुलाई लागेको थियो, कंक्रिटको जंगलजस्तो काठमाडौं खण्डहर भयो होला । लाखौं घरहरु सोत्तर भए होलान् । तर, भूकम्पपछिको काठमाडौं सग्लै छ । थोरै घरहरुमा क्षति पुगे पनि धेरै घरहरु चर्किनसम्म पनि चर्किएनन् ।

राजधानीमा खचाखच घरहरु रहेको र पुराना थोत्रे घरको बाहुल्य रहेको असन र इन्द्रचोकतिर हेर्न जाँदा त्यहाँका थोत्रे घरहरु पनि केही भएका छैनन् । सिंगो असन बजार भूकम्पको जोखिमबाट बचेको छ ।

सरकारी कार्यालय र अन्य निजी घरका पर्खालहरु भत्किएका छन्, तर घरहरु बचेका छन् । सडक किनारामा बनेका ठूला ठूला सिसाका घरहरु ज्युत्तका त्यूँ छन् । अग्ला अग्ला घर हुँदैमा ढलिहाल्छन् भन्ने कुरालाई काठडमाडौंले गलत सावित गरिदिएको छ ।

सरकारको मुख्य प्रशासन सञ्चालन हुने सिंहदरबार र सर्वोच्च अदालतको पर्खाल भत्किएको छ, भवनहरु चर्किएका छन्, तर ढलेका छैनन् । कतिपय मानिसहरु त्रिपालमा बसे पनि घरहरु सग्ला छन् ।

काठमाडौं शहर गोरखाको बारपाक वा सिन्धुपाल्चोकजस्तो सोत्तर भएको छैन । यदि त्यस्तो हुन्थ्यो भने निकै ठूलो संख्यामा काठमाडौंबासीको मृत्यु हुने थियो । काठमाडौंको मानवीय क्षति सिन्धुपाल्चोक भन्दा कम हुनुको मुख्य कारण नै यही हो कि यहाँका प्रायः घरहरुले भूकम्पलाई सहजै झेले ।

तर, रिङरोड भन्दा बाहिर हरिसिद्धी, खोकना, साँघु, गोलढुंगा, कीर्तिपुर, सतुंगल लगायतका क्षेत्रमा बढी धनजनको क्षति भयो ।

गोंगबु नयाा बसपार्कमा कम खर्च गरेर बनाइएका अग्ला गेष्ट हाउसहरुका कारण धेरै घरहरु भत्किए । राजधानीका केही अपार्टमेन्टहरु चर्किएपछि अपार्टमेन्ट ढलेर ठूलो मानवीय क्षति भएको खासै सुन्नुपरेन । कपनको साततले भवन डेढआनामा गलत तरिकाले बनाएकाले ढल्यो । तर, राजधानीका धेरै घरहरु बलिया सावित भए ।

स्रोत:अनलाइनखबर