२० वैशाख, काठमाडौं । भूकम्प प्रभावित क्षेत्रमा अबदेखि सबैले राहत वितरण गर्न पाउने भएका छन् । यसअघि सरकारले भूकम्पपीडितलाई एकद्वार प्रणालीबाट मात्र राहत वितरण गर्ने व्यवस्था गरेको थियो ।
यसअघि एकद्वार प्रणाली अन्तर्गत जिल्ला प्रशासन कार्यालयको स्वीकृति लिएर मात्रै राहत वितरण गर्न पाइन्थ्यो । यसरी वितरण गर्दा राहत वितरण ढिला भएको र पीडितले राहतको महसुस गर्न नपाएको भनेर आलोचना हुँदै आएको थियो ।
त्यसबारे छलफल गर्न आइतबार बसेको प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरुको बैठकले अबदेखि सबैलाई राहत वितरण गर्न दिने सहमति गरेको छ ।
विनाशकारी भूकम्पबाट प्रभावित क्षेत्रमा अझैसम्म पनि राहत सामग्री नपुगेको गुनासो आएपछि त्यसबारे छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत नेकपा माओवादीका शीर्ष नेताहरुको बैठक बसेको थियो ।
राहत सामग्री नदोहोरिने गरी भूकम्प प्रभावित क्षेत्रमा आवश्यकताअनुसार इच्छुक सबैले राहत सामग्री वितरण गर्न दिने बैठकमा सहमति भएको पूर्व प्रधानमन्त्री एवम् कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाले जानकारी दिए ।
बैठकले भूकम्प प्रभावित क्षेत्रमा उद्धार, राहत, पुनःस्थापना र पुनर्निर्माणको कामलाई तिव्रता दिने निर्णय गरेको एमाओवादी अध्यक्ष प्रचण्डले जानकारी दिए ।
दलहरुको बैठकमा आगामी २४ गते बस्ने व्यवस्थापिका संसदको बैठकबारे पनि छलफल भएको बताइएको छ ।
स्रोत:अनलाइनखबर
See more at: http://www.onlinekhabar.com/2015/05/272734/#sthash.Oe4ft6F2.dpuf